नेप्सेको दैनिक चार्टमा हेर्दा मूल्य निरन्तर घट्दै २५५७ को हाराहारीमा आइपुगेको छ। साप्ताहिक चार्टले झन् ठूलो चित्र देखाउँछ, जहाँ लामो समयदेखि माथिल्लो स्तरबाट लगातार करेक्सन भइरहेको छ। support र resistance भनेका जहिले पनि reference बिन्दुहरू मात्र हुन्, ती सधैं सम्मान गरिँदैनन्। यसैले कुनै तह भत्किँदैमा वा टुटेको देखिँदैमा त्यसलाई अन्तिम घटाई अथवा बढाई रूपमा नलिनु राम्रो हुन्छ।
हालसालैको राजनीतिक परिवर्तनले गैरआवासीय नेपाली (NRN) लगानीकर्ताका लागि बजार खुला बनाउने धेरै सुधार ल्याएको छ। तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने NRN लगानीकर्ता महँगो मूल्यमा किन्दैनन्। उनीहरूले किन्नुअघि मूल्य पर्याप्त डिस्काउन्ट (सस्तो) हुनुपर्छ, अनि मात्र त्यसपछि नयाँ माथिल्लो तह ३२०० भन्दा माथि बन्न सक्छ। यो प्रक्रिया समय लिने कुरा हो, एकैचोटि हुने होइन।
बजार किन डिस्काउन्ट हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ। जेनजी आन्दोलन, रसुवामा गएको बाढी–पहिरोमा सयौंको ज्यान गएको दुःखद घटना, यस्ता प्राकृतिक विपद्, आर्थिक संकट र राजनीतिक अस्थिरताले नै बजारलाई तल धकेल्ने काम गर्छन्। सामान्यतया मानिसहरूले यस्ता घटनालाई बजार घटाउने कारण भनठान्छन् तर बजार घट्ने मुख्य कारण भनेको अधिक प्राइस नै हो।
नेप्सेका विभिन्न सेक्टर एउटै आर्थिक चक्र (eco cycle) भित्र गाँसिएका छन्, यो कुरा बुझ्नु धेरै जरुरी छ। बैंकहरूमा उच्च खराब कर्जा (NPL) ले पनि नयाँ कर्जा प्रवाह हुन सकिरहेको छैन। कर्जा नहुँदा नयाँ उद्योग खुल्दैनन्, उद्योग नखुल्दा नयाँ रोजगारी सिर्जना हुँदैन। रोजगारी नहुँदा आम्दानी घट्छ, आम्दानी घट्दा उपभोग घट्छ, र यसले बिमा तथा निर्माण क्षेत्रलाई समेत असर पुर्याउँछ। यसमाथि जलविद्युत् क्षेत्र बाढीबाट प्रत्यक्ष प्रभावित भएकाले बिमा र पुनर्बिमा (insurance/reinsurance) क्षेत्र पनि उठ्न समय लाग्नेछ।
ठूला र चलाख लगानीकर्ताले सानो लगानीकर्तालाई नाफा कमाइदिन मूल्य बढाइदिँदैनन्। उनीहरूले आफ्नै फाइदाका लागि व्यापार गर्छन्, त्यसैले उनीहरूले तपाईंको लागि सजिलै मूल्य उठाइदिने कुरै हुँदैन। उनीहरूले मूल्यलाई उतार–चढाव गराएर सेल साइड लिक्विडिटीमा भएका सानाका स्टप लसहरू ट्रिगर गर्छन्। यसैले साना लगानीकर्ताले गर्नुपर्ने काम भनेको हतार नगरी सही समयको प्रतीक्षा गर्नु मात्र हो।
बजार वर्षौंदेखि कमजोर छ, र सानो कुराले पनि यसलाई तल ल्याइरहेको छ। यस्तो अवस्थामा तल्लो बिन्दु (bottom) समात्ने प्रयास नगर्नुहोस्, किनभने सेयर बजारमा मूल्यको न सुरुवात हुन्छ न अन्त्य। प्राविधिक विश्लेषण (TA) मात्र भरपर्दा बारम्बार स्टप लस लाग्छ, जसले लगानीकर्तालाई मानसिक रूपमा थकाउँछ र गलत निर्णयतिर धकेल्छ।
अन्ततः सुझाव यही हो — छोटो समयको सेन्टिमेन्ट र हल्लाको पछि नलागी विश्वव्यापी रूपमा प्रमाणित सिद्धान्तहरू अपनाउनुहोस्। बजारलाई सावधानीपूर्वक नियाल्नुहोस् र आवश्यकता अनुसार मात्र प्रतिक्रिया दिनुहोस्। हतारमा निर्णय लिनुभन्दा धैर्यता र अनुशासन नै यस समयमा सबैभन्दा ठूलो हतियार हो।